दफा ६४
जायजेथा लुकाउन नहुने

(१) दफा ५५ बमोजिम आफ्नो जायजेथाको दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्नको लागि निवेदन दिने व्यक्तिले आफ्नो सम्पूर्ण जायजेथाको वास्तविक विवरण दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम विवरण दिँदा साहूलाई हानि, नोक्सानी पु¥याउने बदनियतले कुनै जायजेथा लुकाएमा वा छिपाएमा निज उपर छुट्टै नालिस लाग्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम जायजेथा लुकाएको वा छिपाएकोमा दामासाही सम्बन्धी कारबाही पूरा नहुँदै त्यस्तो जायजेथा पत्ता लागेमा पत्ता लगाउने साहू तथा दाबीकर्ता र अन्य साहू तथा दाबीकर्ताका सम्बन्धमा दफा ६१ को उपदफा (२) बमोजिम गर्नु पर्नेछ ।
(४) दामासाहीको कारबाही पूरा भइसकेपछि कुनै साहू वा दाबीकर्ताले उपदफा (३) बमोजिम जायजेथा पत्ता लगाएमा पत्ता लगाई ल्याउने साहू वा दाबीकर्तालाई दामासाहीको कारबाही गर्दाको बखत निजको दाबी बमोजिमको रकम असुल उपर भइसकेको भए पत्ता लगाई ल्याएको सम्पत्तिको दश प्रतिशत र निजको दाबी बमोजिमको रकम असुल उपर हुन नसकेको भए निजको रकम असुल उपर गरी दिई बाँकी रहेको जायजेथा अन्य साहू वा दाबीकर्तालाई सोही उपदफा बमोजिम वितरण गर्नु पर्नेछ ।तर दामासाहीमा परेको व्यक्तिको हकदार, नातेदार साहू वा दाबीकर्ता भएकोमा निजले त्यस्तो सुविधा पाउने छैन ।
(५) उपदफा (२) बमोजिम लुकाए वा दबाएको जायजेथा उपदफा (४) बमोजिम साहू वा दाबीकर्तालाई भुक्तानी गरी बाँकी रहेमा सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ ।